Ram Chandra Devkota

MD

The Center for Motivation and Inspiration

नमस्कार तथा न्यानो अभिवादन!
कुमुदिनी कुञ्ज विद्यालयमा यहाँहरुलाई स्वागत गर्न चाहन्छु। विश्व दिनप्रतिदिन जटिल बन्दै गइरहेको छ र विकासका विविध आयामसँगै नवीन र कठिन चुनौतीहरु पनि थपिँदै आएका छन्। बदलिँदो विश्व मानचित्रमा एकातिर मानवता र नैतिकता नै संकटमा परिरहेको छ भने अर्कोतिर प्रविधि र सञ्चारले विश्वलाई साँघुरो बनाउँदै गएको छ। हरेक राष्ट्रमा एउटा नैतिकवान नागरिक जन्माउनमा विद्यालयको प्रमुख भूमिका रहेको हुन्छ। कुनै एउटा देशको मानवीय विकास, सुशासन र नागरिक सभ्यता कस्तो छ भन्ने कुराले सम्बन्धित देशको शिक्षा प्रणाली कस्तो छ भन्ने कुरा प्रतिबिम्बित गर्दछ। शिक्षा नै एउटा माध्यम हो जसले एउटा चोरलाई साधु बनाउन सक्छ। त्यसकारण नै भनिन्छ नागरिक र राष्ट्रको भविष्य त्यो देशमा प्रदान गरिने शिक्षाले निर्देशित गरिरहेको हुन्छ।

अबको शिक्षा भनेको विश्वव्यापी प्रतिश्पर्धा र चुनौतीहरुलाई सामना गर्दै शैक्षिक स्तरियता, नवीन सोच र स्पष्ट अवधारणाले समाज रुपान्तरणका बाहकहरु जन्माउनु हो। बदलिँदो विश्व परिदृश्यमा खरो उत्रन सक्ने मानव संशाधनको विकास तब हुन्छ जब राष्ट्रमा सो अनुसारको शैक्षिक निति र सिकाइ प्रणाली विकास गरिन्छ।
एक्काइसौं शताब्दी सुहाउँदो बैज्ञानिक र व्यबहारिक शिक्षाको अवधारणा अनुसरण गर्दै विद्यालय स्तरको शिक्षा क्षेत्रमा एउटा बेग्लै पहिचान राख्न सफल संस्था हो- कुमुदिनी कुञ्ज माध्यमिक विद्यालय। चार दशकसम्म निरन्तर रुपमा हासिल गरेका गौरवान्वित शैक्षिक नतिजा, विश्वभर छरिएका हाम्रा विधार्थीहरुको सफलताका कथा अनि अभिभावकहरुको पूर्ण सन्तुष्टि नै हाम्रा सन्तुष्टि र सफलताका मापक हुन् अनि हामीले कमाएका अमूल्य धन पनि ।

पछिल्लो समय शिक्षा व्यवसायीकरण बन्दै गइरहेको जनसरोकारको बिषयमा अभिभावक, बुद्धिजीवी र सरोकारवालाहरुको बहस भइरहेको परिप्रेक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै न्यून शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएको कुरा सर्वविदितै छ। त्यसका अतिरिक्त अति विपन्न, पिछडिएका परिवार, दलित, द्वन्द्व पिडित, अनाथ र जेहेन्दार बिधार्थीका लागि प्रत्येक बर्ष केही सिट आरक्षण गरि नि:शुल्क र केही बिधार्थीहरुलाई आंशिक शुल्कमा सेवा पुर्याउँदै आएको कुरा यहाँहरु समक्ष सहर्ष राख्न चाहन्छु। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विशिष्ट अनुभव र दक्षता हासिल गरेका विज्ञ टिमको कुशल व्यवस्थापकीय नेतृत्व, लामो समय शिक्षा एवम् बालशिक्षण र सिकाइका सरोकारसँग अनुभवी व्यक्तिहरूको कार्यसमिति र तालिम प्राप्त एवम् दक्ष शिक्षकहरूको संयुक्त टिमबाट सञ्चालित यो संस्था काठमाडौँ उपत्यकाकै केन्द्र कालिमाटीको मुटुमा अवस्थित छ । बैज्ञानिक एवम् बालकेन्द्रित सिकाइ बिधिको प्रयोग, शारीरिक एवं मानसिक विकासका लागि उपयुक्त अतिरिक्त क्रियाकलाप र सर्वोत्कृष्ट शैक्षिक नतिजाका लागि निरन्तर अन्तरक्रिया र उत्प्रेरणात्मक कार्यक्रम,प्रयोगात्मक एवम् समस्या समाधान विधि, कार्यमूलक, अनुसन्धानात्मक र खोजमूलक विधिको प्रयोग गरी विद्यार्थीलाई सिर्जनात्मक बनाउने व्यवहारिक शिक्षा नै हाम्रा बिशेषता हुन् र यहि नै कुमुदिनी कुञ्जको विशिष्ट पहिचान हो। प्रयोगात्मक शिक्षाको अपरिहार्यतालाई मध्यनजर गर्दै विद्यालयमा अतिरिक्त ज्ञान आर्जन र अध्ययनका लागि पुस्तकालय, स्वच्छ चमेनागृह, विज्ञान र कम्प्युटर प्रयोगशालाका सुविधाहरु सर्वसुलभ बनाइएको छ। यसका साथै विद्यार्थीहरुलाई रचनात्मक गराई निर्णय प्रक्रियामा सामेल गराउने र नेतृत्व विकास गराउने अवधारणा अनुरुप विभिन्न बाल-क्लवहरु खोलिएका छन् जसले उनीहरुमा लुकेर रहेको प्रतिभा प्रस्फुटन भई एउटा विशिष्ट दक्षता, क्षमता र कलाको विकास हुन्छ भन्ने हाम्रो विश्वास रहेको छ। अन्तमा कुमुदिनी कञ्ज विद्यालयका कार्यकारी प्रमुखका तर्फबाट हाम्रा साझा सपनालाई साकार पुर्याउन विभिन्न क्षेत्रबाट सहयोग पुर्याउनुहुने सम्पूर्ण अभिभावक वर्ग, शुभचिन्तक, स्थानिय निकायका प्रतिनिधिहरु, स्थानीय नागरिक, विद्यार्थी भाइबहिनीहरु एवम् शिक्षासँग सरोकार राख्ने सम्पूर्णमा हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।

रामचन्द्र देवकोटा
प्रबन्ध निर्देशक
कुमुदिनी कुञ्ज एडुकेशनल फाउन्डेसन प्रा.लि
टेकु , काठमाडौं